पार्टी विभाजन नरोके आगामी पुस्ताले असाधारण मूल्य चुकाउनुपर्नेछ : घनश्याम भूसाल

नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टी विभाजनलाई नरोके आगामी पुस्ताले असाधारण मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको बिहीबार जवाफ दिँदै नेता भूसालले अहिलको पुस्ताले धेरै फाइदा लिएको तर अहिलेको पुस्ताका गतिविधिले आम नागरिक र आगामी पुस्ताले ठूलो मूल्य चुकाउने पर्ने बताएका हुन् ।

“आज पार्टीमा देखा परेका समस्या र तिनले उत्पन्न गरेको विभाजनको खतरालाई टार्न पार्टीको अध्यक्ष र संसदीय दलको नेताको हिसाबले तपाईँले खेल्नु पर्ने भूमिका महत्वपूर्ण छ । इतिहासमा अग्रजहरुको बलिदानको जगमा हामी आज बाँचेको पीँढीले आफ्नो जिन्दगीमा धेरै फाइदा लिएको छ तर आजका हाम्रा कर्मले आम जनता र आउने पीँढीले असाधारण मूल्य तिर्नु पर्ने अवस्था आउँदैछ,” उनको पत्रमा लेखिएको छ ।

नेता भूसालले पार्टी एकलाई जोगाउन आफू आवश्य सबै कुरा त्याग्न तयार रहेको समेत बताएका छन् ।

“यसबाट पार्टीलाई जोगाउन व्यक्तिगतरुपमा मैले के के त्याग गर्नु पर्ने हो त्यो सबैका लागि आफु तयार रहेको जानकारी गराउँदै त्यसका लागि तपाईँको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु,” उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?