एनआरएनएले निर्माण गरेको लाप्राकको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ ।

गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको थियो । लाप्राकको पुरानो बस्ती पहिरोको जोखिममा रहेको र २०७२ सालको भूकम्पपछि थप जोखिम बढेकाले अहिलेको बस्तीभन्दा दुई किलोमिटर माथिको गुप्सीपाखामा एकीकृत बस्ती बनाइएको हो ।

एउटा घर निर्माणमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ । एकीकृत नमुना बस्तीमा निर्माण भएका सबै घर एकै प्रकारका छन् । लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार एनआरएनएले २ तले ४ कोठे घर बनाएको हो ।

तर, एकीकृत बस्तीमा झ्यालढोका गुणस्तरीय नभएको स्थानीयले गुनासो गर्दै आएका छन् । बस्तीका घरका लाभग्राही छनाेट गोलाप्रथाबाट गरिएको हाे । केही लाभग्राही नयाँ घरमा आएर बस्न थालिसकेका छन् । बस्तीका एक घरबाट अर्को घरमा जाने बाटो, ढल निकास, भूसंरक्षण लगायतका काम भने बाँकी रहेको छ ।

ती काम पुनर्निर्माण प्राधिकरणमार्फत छिट्टै सुरु हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताउनुभयो। बस्तीका लाभग्राहीलाई घरको लालपुर्जा उपलब्ध गराउने काम पनि सुरु भइसकेको छ । एउटा घरले ३ आना २ पैसा अर्थात १ सय वर्गमिटर क्षेत्रफलको लालपुर्जा पाउने छन् । घर आफ्नो स्वामित्वमा आए पनि उनीहरुले १० वर्षसम्म बेचबिखन गर्न नपाउने जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।

अहिले बस्तीका घरहरु समुदायलाई हस्तान्तरण गरिएको र अब बाँकी सबै संरचना निर्माण पूरा गरेर औपचारिक उद्घाटन गरिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?