संकटको बेला बेड, भेन्टिलेटर, अक्सिजन छैन भन्नु लाचारी र लज्जास्पद : कांग्रेस

नेपाली कांग्रेसले संकटको बेलामा अस्पतालको शैया उपलब्ध गराउन नसकिने भइसकेको वक्तव्य दिएर सरकारले गैरजिम्मेवारी प्रस्तुत गरेको आरोप लगाएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी कोरोना महामारी थेग्न नसकिने अवस्थामा रहेको र शैया उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी संकटमा हतास र त्रास हैन, विश्वास प्रवाह गर्नु सरकारको कर्तव्य हुने उल्लेख गरे।

उनले पूरै वर्ष दिन सत्ता द्वन्द्वमा समय बिताउने, संसद विघटन गरेर मध्यमहामारीमा चुनाव घोषणा गर्ने सरकारले अहिले आएर बेड, भेन्टिलेटर, अक्सिजन पर्याप्त छैन भनी निरीहता प्रस्तुत गरेको आरोप लगाएका छन्।

‘इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो यो,’ विज्ञप्तिमा भनिएको छ। कांग्रेसले यस्ता लाचारी अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरूद्धको संघर्षमा राजयको क्षमता विस्तार गर्न सरकारलाई अपिल गरेको छ।

बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र सिलिण्डरमा सरकारको वास्तविक क्षमता कति हो र संक्रमणको विस्तार कुन हदसम्म हुन सक्छ भन्ने विज्ञको अनुमान र विश्लेषणका आधारमा प्रष्ट, पारदर्शी, योजनावद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी रहेको कांग्रेसले जनाएको छ।

‘संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ, बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन,’ विज्ञप्तिमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?