यो सरकार ढल्यो भने विकासका काम रोकिन्छन् : ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए । सही र गलत कार्य छुट्याएर हरेक क्षेत्रमा देखिएका गलत कार्यविरुद्ध जनताले प्रतिवाद गर्नुपर्ने उनको जोड थियो ।

निर्वाचित सरकारले निश्चित समयावधि लिएर आएकाले त्यसअघि सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो र्दुभाग्य हुने पोखरेलको भनाइ छ ।

‘सरकार पाँच वर्षका लागि आएको हो निर्वाचित भएर । सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो होइन । एउटा अवधिसम्म बस्ने हो,’ पोखरेलले भने, ‘त्यो अवधिसम्म राम्रो काम गर्‍यो भने जनताले पुरस्कृत गर्छन् । राम्रो काम भएन भने दण्डित गर्छन् ।’

उनले सरकार ढाल्ने काम सुरु भए दुर्भाग्य निम्तने बताए । ‘सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले र्दुभाग्य निम्त्याउँछ,’ पोखरेलले भने, ‘विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल सिर्जना हुन्छ ।’

जनतामा निरासा फैलाउने र अस्तव्यस्त सिर्जना गर्न खोजिए राम्रो नहुने उनको चेतावनी थियो । ‘सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ,’ पोखरेलले भने, ‘जनतामा निरासा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन ।’

पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सिर्जना भएको पोखरेलको भनाइ थियो । उनले स्थानीयस्तरमा हुने विकाशका कामलाई राजनीतिक रूपमा नहेर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?