पहिलो लटमै उत्पादन भएको टमाटरबाट १२ लाख बराबर आम्दानी

गोलन्जोर गाउँपालिकाका सयौं युवा गाउँमा केही गर्न सकिँदैन भनी विदेश गएका छन् । तर स्थानीयले हेलाँ गरेको गाउँमा खोटाङदेखि आएका एक कृषकले बोटभरि लटरम्म टमाटर फलाएर देखाएका छन् ।

खोटाङको हेलेसी तुवाचुङ गाउँपालिका स्थायी घर भएका नारायण गिरीले गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा टमाटर खेती सुरु गरेको एक वर्ष भएको छ । ग्वाल्टारमा १३ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती गरिरहेका गिरीले यो वर्ष एक लट टमाटर बिक्री गरि सक्नु भएको छ ।

पहिलो लटमै उत्पादन भएको टमाटरबाट करिब १२ लाख बराबर आम्दानी गर्न पनि उहाँ सफल हुनुभयो ।

उत्पादन भएको टमाटर सिन्धुलीकै बजारमा खपत हुँदै आएको छ । उहाँका अनुसार सिन्धुलीबाहेक रामेछाप, उदयपुर, ओखलढुंगा, खोटाङसम्मका व्यापारी आफैं आएर किनेर लैजाने गरेका छन् । कृषि पेसामा लागेर मेहनत गरे गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उहाँ उदाहरण बन्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?