यथार्थ रिपोर्ट बाहिर ल्याउँछौं : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश घटनाको यथार्थ ‘रिपोर्ट’ ल्याउने बताएका छन् । बिहीबार छोटो कुराकानीमा केसीले गण्डकी प्रदेशको घटनाबारे बुझ्न केन्द्रबाट नेताहरु गएको बताए ।

‘त्यहाँ के भएको हो त्यसबारे बुझ्न केन्द्रबाट साथीहरु पोखरा गइसक्नु भएको छ,’ उनले भने । केसीका अनुसार छुट्टै छानबन समिति नबनाएको तर पार्टी जिम्मेवार नेता पोखरा पुगेको बताए । तर, नाम भने खुलाउन चाहेनन् । केसीका अनुसार ‘गायब’ भनिएका प्रदेश सांसद खिमविक्रम शाही बिहीबार बिहान पार्टीको सम्पर्कमा आएका छन् ।

‘उहाँ (सांसद) ले बिहान सम्पर्क गर्नु भएछ । म बिरामी भएर नै अस्पताल आएको हो । डाक्टरले भेट्न दिएनछन् । अरु बिरामी पनि छन् कोरोनाका भन्नु भयो रे,’ केसीले भने, ‘त्यहाँ के भयो अब के हुन्छ यथार्थ रिपोर्ट हामीले नेपाली जनतालाई जानकारी गराउँछौं ।’

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो दिन बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि मतदानको कार्यसूची थियो । तर, सांसद शाही अचानक ‘गायब’ भएपछि प्रदेशसभा बैठक नै प्रभावित भएको थियो।

सांसद् शाहीको अवस्था अज्ञात रहेको भनेर उनको पार्टीका सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवनरक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेशसभाको कारबाही अनिश्चितकालका लागि स्थगित भएको छ ।

शाहीको जीवनरक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिएकी थिइन् । तर पछि सांसद शाही चरक हस्पिटलको आईसीयूमा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?